|
घले गन्तब्य
घले गाउ (लम्जुङ)
लमजुङ केही समयका लागि आएकाहरु घण्टौं बस्छन । प्रकृतिको
रसास्वादन गर्नेहरुमात्र होइन, मनोरञ्जन वा पिकनिकका लागि पनि मोहित पारेको छ ।
शहरी कोलाहलले उकुसमुकुस भएकालाई सांच्चिनै घलेगाउँको शीतलताले सञ्जीवनी दिएको
छ । स्वदेशी हुन या विदेशी सबैको समय विताउने गन्तव्य बनेको छ, लमजुङको घलेगाउँ
। त्यसैले त देशकै ग्रामीण पर्यटकीयस्थलको ख्याति कमाएको लमजुङको घलेगाउंलाई हनिमुन भिलेज बनाउने तयारी भइरहेको छ । विदेशी मात्र होइन, स्वदेशी पर्यटक र हनिमुन जोडीका लागि घलेगाउँ छोटोदुरीको पदयात्रा मार्ग बन्न सक्छ, घलेगाउँ पर्यटन व्यवस्थापन उपसमितिका सल्लाहकार प्रेम घले भन्छन - विदेशी जोडी त आउंछन । तर, जति नेपाली आउनुपर्ने हो त्यति आएका छैनन, त्यसैले नेपाली पर्यटक र हनिमुन जोडीलाई पनि हामी स्वागत गर्न चाहन्छौं ।’ घलेगाउंमा एकपटक जाने पर्यटक न्यूनतम तीन दिनसम्म बस्छन । पछिल्लोपटक जापानीज पर्यटक निकै आकषिर्त भएका छन । जापानीजको संख्या निकै बढ्ने संकेत देखेका छौं, घलेले भने । आन्तरिक पर्यटक भित्रयाउन सबै तयारी पूरा भइसकेको छ । स्वदेशी पाहुनाका लाग सस्तोमा खाने बस्ने सुविधा मिलाउने योजनामा घलेगाउंवासी छन । अहिले घलेगाउँ आउने स्वदेशीलाई विदेशी भन्दा मेनु’ ३० देखि ४० प्रतिशत सस्तो बनाइएको छ । एक छाक खानाको ४५ रुपैंया र सुतेको प्रतिकोठा ५० रुपैंया कायम गरिएको छ । त्यसो त पाहुनाको बर्साई बढाउन र यहांको सुन्दरता थप्न घलेगाउँ नजिकैको डाँडामा पार्क र भ्यू बनाइएको छ । विशेषतः भ्यू टावरको निर्माणपछि सुर्योदय र सुर्यास्तको अवलोकन गर्नेको संख्यामा बृद्धि भएको छ । शहरका महंगा होटलमा हुने सभा गोष्ठीसमेत आज घलेगाउंमा हुन थालेका छन । पार्कबाट हेर्दा घलेगाउँ कुनै गाउँको तस्वीर झै लाग्यो, बेसीशहरबाट घलेगाउं आएका विरेन्द्र तम भने- घलेगाउंको बारेमा अझ देशविदेशमा प्रचारप्रसार गर्न आवश्यक छ ।’ पार्कको निर्माणपछि घलेगाउँ पिकनिक स्पटको रुपमा समेत विकास भएको छ । घलेगाउँ आउने पाहुनाका लागि यहांको चियाबारीले पनि मोहित पार्छ । गाउं नजिकै लगाएको चिया हुर्काउदै जांदा घलेगाउंको सौर्न्दर्यता पनि उजेलिंदै गएको छ । उत्तरपूर्बमा बौद्ध, ङादीचूली र मनास्लू हिमश्रृङखलाहरु, उत्तरमा लमजुङ हिमाल, अन्नपूर्णदोस्रो र माछापुच्छे्रको मनमोहक टाकुरासँगै विहानीको मिर्मिरेपछि ओछ्यानबाटै सूर्योदयको दृश्यावलोकन ज्यादै रमाइलो हुन्छ । गाउँ नजिकै चिरबिर गर्ने नानाथरिका चरा चुरु्गी, मृग, पिउरा, कालिज अनि लुइचेको आवाजले झन सुनमा सुगन्ध थप्छ । गाउँबाट हेर्दा देखिने चारैतिरका मानवबस्तीहरु अनि सांझको अंधेरीमा झिलमिल देखिने खुदी उपत्यका र नागबेली हुंदै बगेको मर्स्याङ्दी नदीको मनोरम दृश्यले दुख नै बिर्सेर आनन्द मिल्छ । काठमाडौंबाट तनहुंको डुम्रेहुंदै लमजुङ सदरमुकाम बेसीशहर आएपछि करिब ६-७ घण्टाको हिंडाइपछि घलेगाउँ पुग्न सकिने तीनवटा बाटा छन् । बेसीशहरबाट बाग्लुङपानी हुंदै, बेसीशहरबाट खुदी सिम्पानी भलामचौर हुंदै र बेसीशहरबाट खुदी घनपोखरा हुंदै घलेगाउँ पुगिन्छ । मर्स्याङदी नदी, खुदी र मिदिम खोलाहरु माथि बादल ढाकिंदा, बाटोभरि लालीगुरांस राताम्यै फुल्दा, वन्यपन्छीहरुको चिरचिरावट, किटहरुको संगीत र नदीको सुर्साईले घलेगाउँ पुग्दा जो कोहिलाई पनि र्स्वर्गमा पुगेको आभास मिल्छ । बाटोभरी झरना र छहराहरु देखिने, वरिपरि सेरोफेरोको बाक्लो जंगल र त्यसले घेरिएका गाउँ बस्तीहरु पाउँदा पदयात्रा ज्यादै रोमाञ्चित हुन्छ । घलेगाउँमा १ सय ६ घर छन् । ती मध्ये ९० घर त गुरुङ र घलेका मात्र हुन् । घर निकै सुन्दर छन् । अधिकांश घरहरु काठ र ढुंगाले छाइएको छ । गाउँका सबैको काम अतिथि सत्कार नै हो । अतिथि सत्कारका लागि बालक, युवायुवती र बुढापाका सबै लागि परेका छन् । आहा १ कति मिठो आत्मियता, घलेगाउँ पुग्नेहरु प्रायः यस्तै भन्छन । घलेगाउँको पर्यटन व्यावसाय महिलाले धानेका छन् । गुरुङसेनी र घलेनीका मीठा व्यवहारले पाहुना मख्ख पर्छन । जब पाहुना गाउ“मा जान्छन्, तब गाउँलेहरु खुशीभई परम्परागत पोशाकमा गीत संगीत, नृत्य र फूलमाला सहित बाटोसम्म स्वागत गर्न आइपुग्छन् । केटाकेटी युवायुवती र भद्रभलादमी उपस्थित भई अतिथिहरुलाई बीचमा राखी नाच्दै गाउ“ भित्र्याउ“छन् । गाउँलेहरुले अतिथिलाई स्वागत गर्दै जलपान गराउन र अन्य बन्दोबस्त मिलाउन गाउँको सामुदायिक भवनमा लैजान्छन् । थकाई मेटाएर जलपान पश्चात समितिको निर्ण बमोजिम ज-जस्ले पाहुना राख्ने जिम्मा लिएको छ, त्यो घरको प्रतिनिधिले पाहुना लिएर जाने गर्छन् । बढी पाहुना आए सम्पूर्ण व्यवस्था पर्यटन समितिले नै मिलाउँछ । आरामदायी सौर्य बिजुलीको उज्यालो सुत्ने कोठा, शौचालय, नुहाउनको लागि कोठा र जाडोयाममा नुहाउन र्सार्वजनिक नुहाउने घरको व्यवस्था छ । परालको गुन्द्री माथि गाउँमै बुनेको राडी र गलैंचामा पलेटी मारेर बस्दै पारिवारिक वातावरणमा खानपिन गर्दा साच्चिनै रमाइलो र नौलो अनुभव हुन्छ । स्थानीयस्तरमा उत्पादित चामल, तरकारी, मासु भोजनको रुपमा टक्राउँछन् घलेगाउंवासीले । जुन प्राङगरिक मलको प्रयोग गरी उत्पादन गरिएको हुन्छ । घलेगाउँमा राजधानी काठमाडौं र पोखराका पाँचतारे होटलहरुमा पाइने पाइने भन्दा फरक खालका खानेकुरा पाइन्छ । खाना पकाउन दाउरा बालिन्छ । चिसो हुने भएकाले न्यानोका लागि अंगेनाको वरीपरी बस्ने चलन छ र गाउँमै उत्पादित मदिरा सेवन गर्न पाइन्छ । राति घरको आंगनबाट टहटह जुनको उज्यालोमा हिमाल हेर्दै कक्टेलमा झुमे पनि भो । भित्रै चिम्नीको न्यानोमा लुटपुटिए पनि भो ।’- काठमाडौंकी जमुना उलक आफ्नो अनुभव सुनाउंछिन । गाउँमा करिब २ सय जना अटाउने सामुदायिक भवन निर्माण गरिएको छ । जहाँ साँझ खानाखाएपछि सबै गाउँले जम्मा हुन्छन् र नाचगान गर्न थाल्छन् । घलेगाउँवासीले आफ्ना सयौं बर्षअघिका सांस्कृतिक नाचगानहरु जिवन्त बचाइ राखेका छन् । झ्याउरे नाच, सेर्का, दोहोरी, घाँटु, घ्याब्रे, कृष्णचरित्र, झांक्री नाच, तमाराछोरी, कुसुण्डा र करुवा त्यसका उदाहरण हुन । हरेक नाचको भिन्नभिन्न बाजाबाजा र भेषभूषाहरु छन् । घलेगाउँमा पुग्ने पाहुनाको समूहलाई यी नृत्यहरु प्रदर्शन गरिन्छन् । समुन्द्री सतहदेखि २१०० मिटर उचाईमा रहेको घलेगाउँमा फागुन देखि जेठसम्म र भदौदेखि मंसिरसम्म दुई सिजन पर्यटक बढी आउँछन् । देशको वर्तमान अवस्थाका कारण पछिल्लो समयमा विदेशी भन्दा स्वदेशी पर्यटक आगमनमा बृद्धि भएको हुन थालेको छ, त्यसैले आन्तरिक पर्यटन पूर्बर्द्धन गर्न तर्फलागेका छौं, स्थानियले भने । स्रोत: ईलम्जुङ डट कम घले गाउँको फोटोहरु हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् |